काठमाडौं । टी-२० विश्वकप एसिया छनोट अन्तर्गत शुक्रबार मुलपानी मैदानमा नेपालले यूएईको सामना गर्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ ।
नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगिताका निर्णायक खेलमा भिडन्त भएको छ ।
२१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कपमा छनोट भएको थियो ।
एक साता अघि मात्रै नेपाल र युएईबीच भएको त्रिकोणात्मक शृंखलाको फाइनलमा भने यूएई विजयी भएको थियो ।
अहिले नेपाललाई एक हप्ता अघिको भन्दा पनि करिब दुई वर्ष अघिको हारको बदला लिंदै विश्वकपमा पुग्ने अवसर आएको छ ।
नेपाल र युएई बीचको विजेता टोली सँगै ओमन र बहराइन बीचको खेलको विजेताले पनि अर्को वर्ष हुने विश्वकपमा स्थान सुरक्षित गर्ने छ । उक्त खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।