images

श्रीलंकाका एञ्जोलो म्याथुज बने क्रिकेट इतिहासमा “टाइम आउट” हुने विश्वको पहिलो खेलाडी

काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज क्रिकेट इतिहासमा ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।

विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनलाई अम्पायरले एक बल पनि फेस गर्न नपाउँदै आउट दिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्न तयारी अवस्थामा बस्नु पर्ने नियम छ । तर, उनले २ मिनेट बितिसक्दा सम्म बल फेस गर्न तयार नभएपछि बंगलादेशी खेलाडीको अपिलमा उनलाई अम्पायरले आउट दिएका हुन् ।

२४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि ब्याटिङ क्रममा रहेका म्याथुज मैदान प्रवेश गरेका थिए ।

तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिए र नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरे ।

त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गर्यो । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

म्याथुज क्रिकेटको कुनै पनि फरम्याट, कुनै पनि उमेर समूह र महिला/पुरुष क्रिकेटमा टाइम आउट हुने पहिलो खेलाडी हुन् । ३६ वर्षीय म्याथुज श्रीलंकाका अनुभवी अलराउन्डर हुन् ।

आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ । एजेन्सीको सहयोगमा