images

आयोजक भारत विश्वकप क्रिकेटको फाइनलमा, सामीले लिए ७ विकेट

काठमाडौं । आयोजक भारत एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बुधबार मुम्बईमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

भारतका लागि मोहम्मद सामी एक्लैले ७ विकेट लिएर न्युजिल्यान्डको इनिङ ध्वस्त बनाएका थिए । उनी विश्वकप क्रिकेटको इतिहासमा नकआउट चरणमा ७ विकेट लिने पहिलो खेलाडी बनेका छन् । सामीले ९.५ ओभरमा ५७ रन दिएर ७ विकेट लिएका हुन् ।

भारतले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडेका थिए । उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गर्दै सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान तोडेका छन् ।

कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाउने क्रममा ११३ बलमा ९ चौका र २ छक्का हानेका थिए । 

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे । उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडेका थिए । 

ओपनर तथा कप्तान रोहित शर्माले ४७ रनबनाएर आउट हुँदा अर्का ओपनर शुभमन गिल ८० र केएल राहुल ३९ रनमा नटआउट रहे। 

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै ३२७ रन बनाएको थियोे । उसका लागि ड्रेल मिचेलले ११९ बलमा १३४ रनको सतकीय पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ६९, ग्लेन फिलिपसले ४१ रनको योगदान गरेका थिए ।