काठमाडौं । अष्ट्रेलिया भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले फाइनलमा आयोजक भारतसँगको भेट पक्का गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २१२ रन जोडेको थियोे । उसका लागि डेविड मिलरले सतकीय पारी खेल्दै सर्वाधिक १०१ रन बनाएका थिए । हेनेरिचले ४७ र कोट्जेले १९ रनको योगदान दिएका थिए ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिनसले समान ३/३ तथा जोस र हेडले २/२ विकेट लिएका थिए ।
२१३ रनको लक्ष्य पच्छ्याएको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा अन्तिम दुई ओभर चार बल खेल्नु अघि नै लक्ष्य भेटाएको हो ।
उसका लागि ट्रभिस हेडले सर्वाधिक ६२ रन बनाउँदा स्टिभ स्मिथले ३० र डेविड वार्नरले २९ रनको योगदान दिएका थिए ।
विश्वकपको फाइनलमा अब भारत र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।