images

विश्वकप फुटबल एसिया छनोट : नेपाल युएईसँग पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा नेपाल सयुंक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ।

बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो ।

दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अहमद अली मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियाे लिमाले एक-एक गोल गरे।

यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

त्यसैगरी खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि तेस्रो गोल गरे। पेनाल्टी बक्सभित्र दुई जनाले हेड मार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै गोल गरेका थिए ।

त्यस्तै, खेलको इन्जुरी समयको पहिलो मिनेटमा फाबियो भर्जिनियाे लिमाले गोल गर्दै पहिलो हाफमै युएईलाई ४-० ले अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा कुनै पनि टिमबाट थप गोल हुन नसके पछि खेल युएईले ४-० ले जितेको हो ।