काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र पाँच पटकको च्याम्पियन ब्राजिल पराजित भएका छन् ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो भने ब्राजिल कोलम्बियासँग २-१ ले पराजित भएको छ ।
जारी छनोटमा पहिलोपटक हार बेहोरेको अर्जेन्टिना हारका बाबजुद अंक तालिकाको शीर्ष स्थानमा छ । उसको ५ खेलबाट १२ अंक छ ।
उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे । तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।
यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिललाई २-१ ले पराजित गरेको छ ।
ब्राजिलले लिएको १-० को अग्रता उल्ट्याएर कोलम्बियाले पुनरागमन जित निकालेको हो ।
गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर कोलम्बियाले ५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो ।
लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।
जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।