काठमाडौं । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएई विरुद्ध बिहीबार राति पराजित हुँदा दुई हाफमा दुई फरक खेल खेल्यो ।
दुबईको अल माक्तोन स्टेडियममा भएको खेलमा नेपाल विश्वकप खेलिसकेको टिम यूएईसँग ४-० ले पराजित भयो । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको समूह चरणमा पुगेको नेपालको यो पहिलो खेल हो ।
यो हारलाई धेरैले लज्जास्पद पनि भनेका छन् । तर नेपाली फुटबल अहिले जुन अवस्थामा छ त्यो हेर्दा भने नेपाली टिमको प्रदर्शनलाई सन्तोषजनक मान्नुपर्छ भन्नेहरु पनि छन् । फिफा वरियतामा नेपाल भन्दा युएई एक सय चार स्थान माथि छ । युएई ६९औं र नेपाल १७३औं स्थानमा छन् ।
राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक तथा पुरुष राष्ट्रिय टिमका पूर्व मिडफिल्डर अनन्त थापा यूएईसँग नेपालको खेल दुई हाफमा फरक फरक भएको बताउँछन् ।
सन् १९९० मै विश्वकप खेलेको यूएई विरुद्ध नेपालले पहिलो हाफमै चार गोल खाएको थियो ।
‘पहिलो हाफमै चार गोल खानु दुर्भाग्य नै भयो, यूएई उच्च स्तरको टिम नै हो । तर हाम्रो खेलाडीहरु पहिलो हाफमा सम्हालिन सकेनन्,’ थापाले भने, ‘दोस्रो हाफमा नेपालले फाइटिङ स्पिरिट देखायो र सम्हालियो । जसले गर्दा थप गोल भएन । नत्र पहिलो हाफ जस्तै भएको भए ८ गोल पनि हुन सक्थो कि के थाहा ।’
यूएईसँगको खेलपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टिमसँग खेल्नुअघि धेरै तयारी र मैत्रीपूर्ण खेलहरु आवश्यक पर्ने बताए । उनले भने, ‘यूएई जस्तो बलियो टिमसँग खेल्नुअघि धेरै रम्रो तयारी चाहिन्छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु हुनु पर्छ ।’
शारीरिक रुपमा पनि नेपाल पछि परेको एनेसले बताए ।
खेलको नतिजा जस्तो आए पनि नेपाली फुटबलको वर्तमान अवस्थाबाट भने अनन्त थापा सन्तुष्ट देखिएनन् । उनले आफ्नो पालामा पनि नेपाल ठूलो टिमसँग यस्तै ४-५ गोल खाने गरेको र अहिले पनि उस्तै अवस्था रहेको बताए ।