images

चार देशीय महिला टी-२० श्रृङखला : नेपालद्वारा जापान ४६ रनमा अलआउट

काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् । जापानका लागि मेग ओगावाले सर्वाधिक १७ तथा सेइका सुमीले १३ रनको योगदान दिइन् ।

हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

नेपालका लागि रूबिना क्षेत्रीले ३२ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाइन् ।

त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौकाको मद्दतमा २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा काजल श्रेष्ठले नटआउट १५ र सीता रानामगरले ९ रनको योगदान गरिन् ।

लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।