images

मेरै निर्देशन र पहलमा श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निर्देशन र पहलमा वैदेशीक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरेको बताएका छन।

सोमबार छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सबैलाई सामाजिक सुरक्षा’’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मेरै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको छ। कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौतीहरु सामूहिक प्रयासबाट सम्बोधन हुने विश्वास राखेको छु। गत चैत्र ८ गते मात्रै शुरुवात गरिएको उक्त कार्यक्रममा लाखौं श्रमिकहरु सूचिकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित छु। यस सन्दर्भमा सरल र सहज रुपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशित गर्दछु।

हाल सामाजिक सुरक्षा कोषमा १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध रहेको पनि उनले प्रष्ट पारे। जस अन्तर्गत औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध हुनुभएको छ। यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ संलन भएको बताए ।

कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम एक करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ। यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ।

प्रधानमन्त्री प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेको बताए। साथै उनले यो आफैमा महत्वपूर्ण आरम्भ बताउँदै आगामी दिनमा यस अभियानले थप सफलता हासिल गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।