images

राजावादीहरुको मोर्चा बनाउँदै राजतन्त्र र हिन्दुराष्ट्र स्थापनाका लागि लाग्न कमल थापाको आव्हान

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी दल र समर्थकहरुको मोर्चा बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन। सोमबार बिहान काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सबै राजावादी दल र समूहलाई एक ठाउँमा ल्याउनका लागि मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

बैठकले सङ्घीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने, सङ्घीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहना रहेको बताउँदै वृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई आह्वान गरेको हो ।

बैठक पश्चात एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले भनेको छ,‘राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरङ्कुश शासन प्रणाली होइन । यो परिवर्तनकारी विचार र शक्ति तथा परम्परागत बिचार र शक्ति बिच सामञ्जस्ताको मान्यता हो । यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो । राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होइन । जनसम्प्रभुताको मान्यता अनुरूप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकको रूपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मूल मर्म हो ।’