images

एकसाता भित्र मेलम्चीको पानी काठमाडौं नआए आन्दोलन गर्ने चेतावनी

काठमाडौं। काठमाडौंका उपभोक्ताहरुले एक साताभित्र मेलम्चीको पानी ल्याउने व्यवस्था नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मुख्यबाँधमा बाढीले क्षति पु¥याएपछि बन्द भएकाे थियाे ।

बाढीपहिरोले पानीको मुहान र सुरुङमा क्षति पु¥याउन सक्ने भन्दै गत असार ७ गतेदेखि मेलम्चीको पानी वितरण रोक लगाएको थियो ।

खानेपानी मन्त्री महिन्द्र राय यादव भने छिट्टै मेलम्चीको पानी वितरण थालिने दाबी गरिरहेका छन् । काठमाडौंका उपभोक्ताले दबाब दिएपछि खानेपानीमन्त्री महिन्द्रराय यादवले मंगलबार उपभोक्तासँगै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसँग छलफल गरेका थिए । अर्थमन्त्रीसँगको छलफल सकारात्मक भएको भन्दै उनले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताए । फेरि उपभोक्ता र भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गर्नेे आश्वासन दिए।

काठमाडौंवासीले भने एक हप्ता भित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवसँगै अर्थमन्त्रीलाई भेट्न पुगेका कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा पनि एक हप्ता भित्र पानी ल्याउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । उनका अनुसार हेलम्बुका स्थानीयले माग गरेको ११ करोड, ५० लाख ६६ हजार रुपैयाँ सरकारले तत्काल उपलब्ध गराए पानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने मेलम्चीको पानी काठमाडौं ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पारेका छन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सुरु गरिएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । २०७८ असार र साउनमा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्समा ठुलो क्षति पु¥याएको थियो । त्यसपछि पानी वितरणमा पटक–पटक समस्या आइरहेको छ ।