images

भूकम्प पीडितहरुको आवास निर्माणको लागि पहिलो किस्ताबाट २५ हजार नगद दिन्छौंः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन छिट्टै दोस्रो किस्ता वापतको रकम पठाउने बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार दिइने जानकारी दिए । आवास निर्माणको काम सुरु गर्नासाथ बाँकी २५ हजार रुपैयाँ पनि बैंकमार्फत दिइने उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताए । पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरुसँग छलफल गरी योजना बनाएर काम गर्ने उनको भनाइ छ । बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जाजरकोटमा टेन्ट १ हजार ६३४, त्रिपाल ४१ हजार ४०२, ब्याङ्क्वेट ३१ हजार ६५४, म्याट्रेस १३ हजार ४९२ र स्लिपिङ ब्याग २ हजार ४८५ पठाइएको जानकारी दिए ।

त्यस्तै रुकुम पश्चिममा ८०३ वटा टेन्ट, त्रिपाल २२ हजार २५०, ब्ल्याङ्केट ६ हजार १७, पिफम ५ हजार २०१ वटा र स्लिपिङ ब्याग १ हजार ३१४ वटा पठाइएको उनको भनाइ छ । हालसम्म आवास निर्माणका लागि जाजरकोटमा ५५ करोड, रुकुम पश्चिममा ५५ करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड, सल्यानमा २ करोड रुपैयाँ गरी जम्मा १ अर्ब ५१ करोड रुपैयाँ पठाइएको छ ।

भूकम्पको कारण जाजरकोटमा ९ हजार ७९४ पूर्ण र २४ हजार घरमा आंशिक क्षति भएको गृहको तथ्यांक छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण र ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ । त्यस्तै रुकुम पूर्वमा १५०, सल्यानमा ६ सय, रोल्पामा एक सय र प्युठानमा ३१ घरमा क्षति पुगेको छ ।