काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशले सम्मान गरेको छ। शनिबार लुम्बिनी प्रदेश कार्यसमितिले खाणलाई सम्मान गरेको हो।
खाण थुनामा रहेकाले उक्त सम्मानपत्र पार्टी सभापति शेर बहादुर देउवाले खाणका भाई रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।गत असार २ गते खाणसहित उक्त अभियोग लागेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
जिल्ला अदालतको आदेश विरुद्ध खाणका कानुन व्यवसायीहरु उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दामा गत शुक्रबार उच्च अदालत पाटनले आदेश दिएको थियो। खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच मत बाझिएको थियो। मत बाझिएकाले एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा निर्णय हुनेछ। त्यसको लागि अर्को साता पेशी तोकिनेछ।
खाणलाई अभियोग लागेको भए पनि कांग्रेसले भने केन्द्रीय सदस्यबाट निलम्बन गरेको छैन। उनलाई निलम्बन गर्नु पर्ने भन्दै कांग्रेस संस्थापन इतरपक्षका नेताहरुले कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत माग राखेका थिए। तर संस्थापन पक्ष बहुमत भएका कारण खाणलाई निलम्बन गर्न कांग्रेस पन्छिएको थियो।


स्पेस समाचार







