images

काठमाडौंमा चिनीको हाहाकार,सरकारले जीटूजी प्रक्रिया मार्फत समेत ल्याउन सकेन

काठमाडौं । काठमाडौंमा चिनीको हाहाकार कामयमै रहेकाे छ । ५० प्रतिशत भन्सार छुटमा चिनी ल्याउन नसकेको सरकारले जीटूजी प्रक्रियाबाट पनि ल्याउन सकेको छैन । तिहारअगाडि नै ल्याउने दाबी गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छठ सकेर मंसिर लाग्दासमेत चिनी ल्याउन असफल भएको छ ।

चाडबाडको माहोलसँगै ५० हजार टन चिनी जीटूजीमार्फत ल्याउन मन्त्रालयले गत साउन ५ मा चिठी पठाएको थियो । भारतले साढे ३ महिनापछि कात्तिक १६ मा इमेलमार्फत २५ हजार टन चिनी दिने जनाएको थियो ।

भारतको पत्रसँगै आपूर्ति मन्त्रालयले खाद्य र साल्टसँग छलफल गरेको थियो । २५ हजार टनमध्ये सुरुमा १०÷१० हजार टनका दरले खाद्य र साल्टलाई चिनी ल्याउन अनुमति दिएको थियो । जीटूजीबाट ल्याउने चिनीमा पनि ५० प्रतिशत भन्सारदर छुट थियो । तिहार र छठकै लागि जीटूजी भनिए पनि अन्ततः सरकारले चिनी ल्याउन सकेन । कमिसन र चिनी उद्योगीको चंगुलमा परेका साल्ट, खाद्य र केही सरकारीकै कारण चिनी ल्याउने नाममा सर्वसाधारणलाई झुक्याएको उपभोक्ताकर्मीको आरोप छ ।

चाडबाडमा सरकारी निकाय र चिनी उद्योगीकै मिलेमतोमा कृत्रिम अभाव र मूल्यवृद्धि गराइएको उपभोक्ताकर्मी बताउँछन् । किलोको ९० देखि ९५ रुपैयाँको चिनीलाई सरकारले नै ११५ रुपैयाँ बनाएर वैधानिकता दिएको छ ।