images

एनसेलको पूँजीगत लाभकरसम्वन्धी मुद्दामा आज सुनुवाई हुँदै, मुद्धा हारे आजियटालाई जटिल हुने

काठमाडौं। मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेको तथ्य बाहिँरिदा सर्वोच्च अदालतमा पूँजीगत लाभकरसम्वन्धी एउटा मुद्दा भने अझै टुंगिएको छैन ।

ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको आज सुनुवाइ हुँदैछ । सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटाले एनसेलको शेयर बेचेर हिँडेको हो ।

आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन ।

ठूला करदाताको कार्यालयले कम्पनीलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेपछि आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमेत गुहारेको थियो । तर, लगानी विवाद समाधानसम्वन्धी अन्तर्राष्ट्रिय केन्द्र (इक्सिड) बाट पनि पार लागेन । अन्ततः सर्वोच्चको फैसला प्रतिक्षा नगरि एजियटाले सस्तो मूल्यमा एनसेल बिक्री गरेको हो ।

इक्सिडले एनसेलबाट नेपाल सरकारले उठाइसकेको पूँजीगत लाभकरलाई समर्थन गरे पनि थप ५७ अर्ब माग गरिएको विषयमा भने कुनै पनि फैसला दिएको छैन । त्यसैले यो विषय सर्वोच्चले नै निरुपण गर्नुपर्ने भएको छ ।

यदि सर्वोच्चले यसरी माग गरिएको रकम आजियटाले तिर्नुपर्ने फैसला सुनाएमा जटिलता सिर्जना हुन सक्छ । आजियटाले कम्पनी बिक्री गरिसकेको छ । एनसेल खरिद गर्ने स्पेक्ट्रलाइट यूके लिमिटेड नेपालीले नै स्थापना गरेको कम्पनी हो ।