काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनीक भएको छ ।सोमबार सार्वजनीक तालिका अनुसार नेपाल समूह डीमा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सोमबार प्रतियोगिताको खेल तालिका समेत सार्वजनीक गरेको हो । नेपालले माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले माघ १० गते समूह चरणको दोस्रो खेलमा पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
दक्षिण अफ्रिकामा हुने आईसीसीको युथ प्रतियोगितामा विश्वभरका १६ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । समूह एको चौथों टिमले समूह डीको चौथों बन्ने टिमसँग र समूह बीको चौथों टिमले समूह सीको चौथों हुने टिमसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछन् । प्रत्येक समूहबाट शीर्ष तीनमा रहदै सुपर सिक्समा पुग्ने राष्ट्रलाई दुई समूहमा बाँडिनेछ ।
एउटा समूहमा समूह ए र डी तथा अर्को समूहमा समूह बी र सीको शीर्ष तीन टिम सहभागी हुनेछन् । समूहमा टिमको स्थान प्राप्त नम्बर, जित र नेट रनरेटका आधारमा गरिनेछ । प्रत्येक टिमले सुपर समूहमा दुई म्याच खेल्नेछ । (जस्तै समूह एको शीर्ष टिम ‘ए वान’ले समूह डीको दोस्रो र तेस्रोसँग अर्थात ‘डी वान’ र ‘डी थ्री’)सँग सुपर स्टेजमा प्रतिस्पर्धा गर्नेछ । दुई समूहबाट शीर्ष दुई टिमले अन्तिम चारमा स्थान पक्का गर्नेछन् । र फाइनलको यात्रामा अघि बढ्नेछन् ।
०००