images

पूर्व मन्त्री गोपाल किराती खोटाङबाट पक्राउ


काठमाडौं। पूर्वमन्त्री गोपाल किराती खोटाङबाट पक्राउ परेका छन। पहिचानवादी पक्षधर नेता किरातीलाई खोटाङकाे हलेसीबाट पक्राउ गरेको आदीवासी जनजाती महासंघ ओखलढुंगाका सचिव दीपेन्द्र रुम्दाली राईले स्पेश समाचारलाई जानकारी दिएका छन।

नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेपछि प्रहरीले मन्त्री किराती सहितका अन्य थुप्रै सर्वसाधरणहरुलाई पक्राउ गरेको छ। एमालेको मध्यपहाडी लोकमार्ग यात्राको प्रतिरोधमा पहिचान पक्षधरले भोजपुर खोटाङ र ओखलढुंगा बन्द गराएका छन् भने ठाउँ ठाउँमा रूख ढालेर सडक अवरुद्ध पारेका छन्।

पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण भोजपुर खोटाङ र ओखलढुंगाकाे यातायात ठप्प छ। नेकपा (एमाले)ले सञ्चालन गरिरहेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए।

समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत एमालेले आज घुर्मीमा बृहत् जनसभा गर्ने तयारी गरेको छ। त्यसकै विरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

कोशी प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले गएराति खोटाङको दिक्तेल–जयराम सडकखण्डका विभिन्न ठाउँमा रूख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए।तर प्रहरीले विहानै अवरोध हटाइसकेको दाबी गरेको छ।

पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लगायतका नेताहरु लक्षित विरोधको कार्यक्रमहरु राखेका छन।

पहिचान पक्षधरको बन्दका कारण जनजीवन प्रभावित छ। सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन्। बन्दलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।