images

व्यवस्थापकीय कमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाई

काठमाडौं । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ ।

सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् ।

गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो । बाढीपहिरोले क्षति पु¥याउने त्रासमा जेठमा पानी पथान्तरण बन्द गरिएको थियो । यस वर्ष असोज २८ गते देशभरिबाट मनसुन बाहिरिएको छ । सुरुङमा पानी पथान्तरण बन्द भएको सात महिना र मनसुन बाहिरिएको दुई महिना बित्न लाग्दा पनि बाढीपहिरोले पुरिएको मेलम्चीको मुहान हेडवक्र्स खुलाउन अहिलेसम्म कुनै प्रयास गरिएको छैन । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ठेकेदारले सिनो हाइड्रोले बाँकी रकमको भुक्तानीलगायतका विभिन्न सर्त राखी काम सुरु नगरेकाले पानी वितरणमा ढिलाइ भएको बताएका छन् ।

सम्झौता अनुसार सिनो हाइड्रो आयोजनाको निर्माण कम्पनीका रूपमा कायम रहेसम्म अरू कुनै पनि कम्पनीले आयोजनासम्बन्धी कुनै पनि काम गर्न पाउने छैनन् । आयोजनाको बिमा गरिएको र सोही रकमबाट नै ठेकेदारलाई भुक्तानी गर्नुपर्ने भएकाले रकमको कुनै समस्या नरहेको उनको भनाइ छ ।

खानेपानीमन्त्री यादवले मेलम्चीको पानी काठमाडौँमा छिट्टै नै वितरण हुने आश्वासन दिएको १० दिन पुग्न लाग्दा पनि अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै काम सुरु हुन नसक्नुले समेत गम्भीर व्यवस्थापकीय कमीकमजोरी प्रस्ट भएको देखिएको छ ।