images

एमालको संकल्पयात्रा धनकुटा प्रवेश

काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा पुग्ने भएको छ । एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्न लागेको हो । संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।

यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछन् । अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम राखिएको बताए ।

जोरपाटीमा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने तयारी छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

सिधुवाको कार्यक्रम सकेर गएपछि वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको हो । धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा गर्न लागिएको आमसभामा १५ हजार भन्दा बढी मानिस सहभागि हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए ।पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।