images

चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाडौं।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनाको तथ्यांकमा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । रेमिट्यान्समा भएको उल्लेख्य वृद्धि र आयातमा भएको कमीले अर्थतन्त्रका बाह्य सूचक थप मजबुत बनेको छ । चालु खाता बचत करिब १ खर्ब नजिक पुग्दा शोधनान्तर बचत करिब डेढ खर्ब पुगेको छ । राष्ट्र बैंकले महंगी २६ महिना यताकै कम भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।


राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवदेन अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६ दशमलव ४ प्रतिशतले बढी हो । अमेरिकी डलरमा रेमट्यान्स २३ दशमलव १ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ ।

कात्तिक मसान्तसम्म चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा बचतमा देखिएको हो । कात्तिक मसान्त सम्ममा पूँजीगत ट्रान्सफर ४६ दशमलव ६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ । चालु खाता मात्रै नभएर शोधनान्तर बचत पनि उल्लेख्य रुपमा बढेको छ । कात्तिक मसान्तमा शोधनान्तर स्थिति १ सय ४७ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो । राष्ट्रबैंकले बजारमा महंगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिकमा २६ महिनायताकै न्यून मूल्यवृद्धि देखिएको छ । केन्द्रीय बैंकका अनुसार बजारमा खुद्रामा २ दशमलव ७ प्रतिशत र थोकमा ८ दशमलव ११ प्रतिशतले महँगी घटेको छ । चालु आर्थिक वर्षको चौथो महिनामा समग्र मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको आफ्नो वार्षिक लक्ष्यमा तोकेको विन्दुभन्दा पनि न्यून हो । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको थियो । यस्तै आयात ३ दशमलव ८ प्रतिशतले घटेको छ भने निर्यात ७ दशमलव ७ प्रतिशत घटेको तथ्यांकमा उल्लेख छ ।
चालु वर्षको ४ महिनामै विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले वृद्धि भई १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । जसले ११ महिनाको आयात धान्ने छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यिसमम ७ महिनाको बस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनियम सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा पनि बढेको छ । चालु वर्षको कात्तिकसम्म निजी क्षेत्रमा जाने कर्जा २ दाशमलव १ प्रतिशतले बढेर ९९ अर्ब ४० करोड पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ९ प्रतिशत रहेको छ । चार महिनामा सरकारले ३ सय ५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिमा चालु खर्च २ सय ७१ अर्ब १७ करोड, पुँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको छ । सरकारको कुल राजस्व परिचालन २ सय ७६ अर्ब ६४ करोड भएको छ ।