images

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा प्रतिवेदनलाई अन्तिम रुप दिन छलफलमा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल गर्न शुक्रबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । महामन्त्रीद्वय थापा र शर्माले बैठकअघि नै महासमिति बैठकमा प्रस्तुत हुने महामन्त्रीका प्रतिवेदनलाई अन्तिम रुप दिएर बैठकमा प्रस्तुत गर्ने तयारी गरेका हुन् ।

दुई महामन्त्रीबीच नक्सालमा छलफल चलिरहेको छ । आगामी महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् भने अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आगामी नीतिका विषयमा प्रतिवेदन पेस गर्नेछन् । महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापामगरले दुई नेताबीच पार्टीको महासमिति बैठकका प्रतिवेदनलाई एकरुपता दिन र राजनीतिक तथा सांगठनिक प्रस्तावहरुलाई अन्तिम रुप दिने विषयमा छलफल भइरहेको जानकारी दिए ।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरिसकेको छ भने बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता सहभागी हुनेछन् । तर त्यही मितिमा बैठक गर्ने विषयमा कांग्रेसभित्र मतैक्यता छैन ।