images

असई थमन हत्याकाण्डः एमाले सांसद कोइलीलाई सफाई,लोसपा सांसद शर्मा सहितका ७ जनालाई जन्मकैद

काठमाडौं। महोत्तरीमा ८ वर्षअघि भएको थमन बिक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ ।

बिहीबार जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नम्बर ३ (क) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मासहित ७ जनालाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद सजाय हुने फैसला सुनाएको हो ।

सजाय पाउनेमा शर्मासहित सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् । रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी र अर्का अभियुक्त पवन कापरले भने सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा २८ जनालाई प्रतिवादी बनाइएको थियो ।

१९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ । उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो । घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो । जिल्ला अदालत महोत्तरीले कोइरीलाई २०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले २०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार थिए । प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए । यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।