images

युवा केन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा छः एमाले नेता ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् ।

शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले यात्राका क्रममा आफूहरुले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरु रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताएका छन् ।

गाउँ बस्तीहरु बिस्तारै युवाबिहीन अवस्थामा पुगेको भन्दै उनले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको उल्लेख गरेका छन् ।

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।