images

१० दिनदेखि बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा फेला

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका-१० का १२ वर्षीय बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका-१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया ध्रुबबहादुर थापा मृत अवस्थामा भेटिएको उनका मामा गोविन्द चलाउनेले स्पेस समाचारलाई जानकारी दिए ।

परिवार स्रोतका अनुसार बालक २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा आएका थिएनन् ।
मृतक बालकले कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको परिवार स्रोतले बताएको छ ।

झोला भेटिएको १० दिनपछि घर देखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । उनी अन्नपूर्ण आधारभूत विद्यालय नल्फूमा कक्षा ६ मा अध्ययनरत थिए ।
घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।