images

राष्ट्रियसभाको अध्यक्ष नपाए गठबन्धन नै फेर्ने माओवादीको धम्की, कांग्रेसमा दाैडधुप सुरु

काठमाडाै। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ। राष्ट्रियसभाका अध्यक्ष सहित १९ जना रिक्त हुने भएपछि निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै सत्तारुढ दल भित्र राष्ट्रिय सभा अध्यक्ष लगायतका बहुमत सांसदहरु आफ्नो पक्षमा ल्याउनका लागि सत्तारुढ दलभित्र बहस सुरु भएको छ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभा अध्यक्षपदबाट बिदा हुने भएपछि अध्यक्ष कुन दलले लिने भन्नेमा गठबन्धनभित्रै हानथाप भएको छ । खासगरी प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

पूर्वसहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने माओवादीको अडान छ भने ठूलो दलको हैसियतमा आफूले माथिल्लो सदनको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको तर्क छ । माओवादी त कांग्रेसले नमाने समीकरण नै बदल्नेसम्मको तयारीमा उनीहरुले गरिरहेका छन् ।

संसदको पहिलो शक्ति नेपाली कांग्रेस सत्तामा भएर पनि नेतृत्वदायी भूमिकामा छैन । सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ । भने संघीय संसदको दुबै सदनको नेतृत्वमा पनि अहिले एमाले छ । अब खाली हुन लागेको राष्ट्रियसभाको नेतृत्वमा पनि माओवादी केन्द्रले दाबी गरिरहेको छ । एउटै गठबन्धनमा भए पनि राजनीतिक र संवैधानिक नियुक्तिका बेला पनि कांग्रेस र माओवादीबीच टक्कर हुँदै आएको देखिन्छ ।

अहिले राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ दुई दलबीच नै प्रतिष्पर्धा चलेको छ । राष्ट्रियसभामा खाली हुने २० सिटको भागबन्डा र राष्ट्रियसभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन दलभित्रै संघर्ष गरिरहेका छन्। खासगरी अध्यक्ष पदका लागि कांग्रेस र माओवादीको अडानले गठबन्धनको भविष्य नै के हुने भन्ने प्रश्न पनि उठाएको छ । माओवादी नेताहरु गठबन्धनभित्र भागबण्डा नमिले परिस्थिति परिवर्तन हुनसक्ने दाबी गर्छन । नेपालको राजनीति अस्थिर भएकाले समयक्रमअनुसार गठबन्धन बन्ने र भत्किने कुरा स्वभाविक भएको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीको दाबी छ । उनले स्पेस समाचारसँग भने- ‘हिजो एजेण्डा मिलेकै कारण कांग्रेस र माओवादीसँग गठबन्धन बन्यो । भोलिका दिनमा त्यसो नहुन सक्छ । एजेण्डा नै नमिलेपछि हामी विभाजित हुन्छौं ।’

माओवादीले अध्यक्ष नपाए गठबन्धन नै परिवर्तन गर्नसक्ने चेतावनी दिइरहेका बेला राष्ट्रिय सभा अध्यक्ष नछाड्न कांग्रेसमा पनि नेतृत्वमाथि दबाब बढेको छ । संसदको ठूलो शक्ति भएको र कार्यपालिकाको नेतृत्व माओवादीले गरिरहेकाले राष्ट्रियसभा अध्यक्ष आफूले पाउनुपर्ने कांग्रेसको तर्क छ । त्यसका लागि कांग्रेस नेताहरुको दौडधुप झनै बाक्लिएको छ । संसदको ठूलो शक्ति भएको हिसाबले पनि अध्यक्ष कांग्रेसले लिनुपर्ने कांग्रेस सांसद दिपक गिरीले स्पेस समाचारलाई बताए ।

गठबन्धनभित्र अध्यक्ष कुन दलले पाउने छलफल नै नचलेका बेला कांग्रेसभित्र उम्मेदवार नै खडा हुन थालिसकेका छन् । कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, सिटौला आम निर्वाचनमा पराजित भएकाले उनलाई राष्ट्रिय सभामा नलैजान कांग्रेसभित्रै दबाब बढेको छ । माओवादी भने भागबण्डाका आधारमा राष्ट्रपति कांग्रेसले पाइसकेको र आलोपालो प्रधानमन्त्री भनिएकाले राष्ट्रिय सभा अध्यक्ष कुनै हालतमा नछाड्ने पक्षमा छन् ।

गठबन्धन दलभित्रको हानथाप र रस्साकस्सीले गठबन्धनको भविष्य नै खतरामा पर्ने त होइन भन्ने आशंका पैदा गरेको छ । आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिदैछ । जसमा एमालेका ८, कांग्रेसका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना गरी १९ सांसद बिदा हुँदै छन् । एक महिना अगाडि नै रिक्त पदपूर्ति गर्नुपर्ने भएकाले माघ ११ गतेका लागि चुनावको मिति तोकिएको छ । राष्ट्रियसभामा निर्वाचित हुने सदस्यको ६ वर्षको पदावधि हुने भएकाले नेताहरु तँछामछाड गरिरहेका छन् ।