images

भिजिट भिसामा विदेश जान लागेका २४६ जनाको कागजात नक्कली

काठमाडौं। भिजिट भिसामा विदेश जान लागेका १ हजार ५ सयभन्दा बढीको कागजात अध्ययन गर्दा २ सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रुपमा नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको हाे ।

नक्कली कागजात प्रकरणमा प्रहरीले गत असोजदेखि अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये २ सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण लगायतका कागजात नक्कली पाइएको प्रहरीले जनाएको छ ।

उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको पनि अनुसन्धानमा खुलेको छ । मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई पक्राउ गरी संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा रहेका छन् ।