images

संघीय निजामती सेवा विधेयक साढे तीन महिनादेखि गायब

काठमाडौं। सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साढे तीन महिनादेखि गायब भएको छ ।

संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएको थियो ।

विधेयक गायब पारिएकाले त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएकाले विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय स्रोतले जानकारी दिएको छ ।

त्यस लगत्तै संसद् अधिवेशन समाप्त भएको थियो । त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, विधेयक गायब भएसँगै प्रधानमन्त्रीको प्रतिबद्धताले तुहिएको छ । संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ८ वर्षदेखि आउन सकेको छैन ।