images

जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह

काठमाडौं। रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको हो । भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका सबै सामग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिव तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गरिएको जनाइएको छ । विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो ।

यसैबीच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयम्बरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सोही सामुहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन् । उनले उत्तर भारतको उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् ।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामुहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएकाहरुले बताएका छन् ।