images

विकास ऋणपत्रमार्फत थप ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले थप ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोलमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्र २०८५ ‘ट’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट नै तय हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।