images

राष्ट्रियसभा निर्वाचनका मतदाताहरुको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने कानुनी व्यवस्था रहेकाे छ ।

जसअनुसार प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ ।

पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची तय भएको छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यस अनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य २० जनाको पदावधि सकिँदैछ ।