images

धनुषा झडप अपडेट-प्रहरीको गोली लागेर थप दुई जना घाईते

काठमाडौं । धनुषाको हँसपुर नगरपालिका वडा नं. ५, सुगा निकासमा रहेको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।

स्थानीयको कुटाईले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएपछि आक्रोसित स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् ।

घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुईजनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।

आक्रोशित स्थानीयको भीडले प्रहरीऊपर आक्रमण गर्न खोज्नुका साथै सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानिय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी स.ई. तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएका छन् ।