images

प्रधानमन्त्री प्रचण्डले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले आफ्नो एक वर्षे कार्यकाल पुरा भएको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका रुपमा दाहालले तेस्रो पटक कार्यकाल सम्हालेको मंगलबार १ वर्ष पूरा हुँदैछ । सोही अवसरमा दाहालले साँझ ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिने बताइएको छ ।

यसअघि दाहालले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने बताउँदै आएका थिए । अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन् ।

देखिने गरी काम नगरेको भन्दै मन्त्री हेरफेरको गृहकार्य गरिरहेका दाहालले मन्त्रीहरुलाई थप एक महिनाको मौका दिएका हुन् । त्यसमा उनले बजेट खर्च, नयाँ कार्यक्रम, नीति तथा कार्यक्रममा उल्लेख भएको विषय कार्यान्वयन भए–नभएको हेर्ने जनाइएको छ । समयसीमाभित्र काम गर्न सके कायम राख्ने र नसक्नेलाई बिदा गर्ने उनको योजना छ । उनले अहिले हरेक मन्त्रालयको छुट्टाछुट्टै प्रगति विवरण लिइरहेका छन् । प्रधानमन्त्री दाहालको कार्यकक्षमा मन्त्री स्वयम् उपस्थित भएर प्रगतिविवरण प्रस्तुत गरिरहेका छन् ।