images

प्रकृति पुजक किराँत समूदायले आज उधौली पर्व मनाउँदै

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ ।हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुम अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली ।

खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

यसैबीच नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा रहेको छ ।