images

लुम्बिनीबाट राष्ट्रिय सभामा जानका लागि कांग्रेसमा आंकाक्षीहरुको लर्काे

काठमाडौं । कांग्रेस लुम्बिनीबाट राष्ट्रिय सभामा जाने आकांक्षीको लर्को देखिएको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा जित निश्चित हुने देखिएकाले पनि अहिले राष्ट्रिय सभामा जानका लागि धेरैैले आकांक्षा देखाएपनि नेतृत्वलाई छनौटका लागि संकट परेको छ ।

लुम्बिनीबाट दुई सीटमा नेपाली कांग्रेसले उम्मेदवार बनाउने भएको छ । जसमा एक महिला र एक पुरुष रहने छन् । लुम्बिनीबाट राष्ट्रिय सभामा भएका एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको पदावधि फागुन २० गते सकिँदैछ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीका सबै जिल्लाबाट आकांक्षीको नाम प्रदेश समितिले माग गरेको थियो । अहिले पूर्वमन्त्रीसहित प्रतिनिधिसभा सदस्यमा पराजित नेताहरु समेत आकांक्षी देखिएपछि नेतृत्वलाई छनौटका लागि समस्या परेको हो । रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको नाम कांग्रेस प्रदेश कार्यसमितिमा सिफारिस आएको जनाइएको छ ।

राष्ट्रिय सभामा उम्मेदार हुन अर्घाखाँचीबाट पुष्पा भुसाल, गुल्मीबाट चन्द्र केसी, प्युठानबाट डा. गोविन्द पोखरेल, रुपन्देहीबाट भरत शाहसहितका नेताहरुको नाम सिफारिस भएर आएको छ ।