
काठमाडौं । नेपाल विद्यार्थी संघको आन्तरिक कलह बढ्दै गएको छ । नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको विधि विधान विपरित एकलौटी गरेको भन्दै संस्थापन इतर पक्षका विद्यार्थिको भेलाले त्यसको विरोध जनाएको छ ।
बुधबार नेविसंघ संस्थापन इतर पक्षको भेलाले विभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र जारी गरेको नेता धर्मराज शाहीले स्पेस समाचारलाई जानकारी दिए । शाहीले भने,नेबिसंघको बिधि र बिधानलाई मिचेर गरिएका कुनै पनि जिल्ला समिति र क्याम्पसका इकाई समितिहरुको नियुक्तिहरुलाई खारेज गर्दै बिधि सम्मत तरिकाले सहमति, सहकार्य र एकताका आधारमा १२ औ महाधिबेशन सुनिश्चित गराउने लगायतका निर्णयका साथ १४ बुँदे घोषणापत्र जारी गरेका छौं। शाहीले नेविसंघको तत्काल अधिवेशन गराउनु पर्नेमा जोड दिए ।
संगठनलाई तदर्थवादबाट चलाइनु र संगठनलाई विधिविधान विपरीत मनोमानी ढङ्गले व्यक्तिगत स्वार्थमा लागि सिङ्गो संगठनलाई बन्धक बनाइनु संघमा आबद्ध देशभरिका सदस्यहरूको भावनामाथिको ठाडो प्रहार मात्र नभई नेपालको सिङ्गो विद्यार्थी आन्दोलनको इतिहासमाथिको कुठाराघात भएको उनीहरूको ठहर छ । नेतृत्वको गतिविधिले संघको विधिविधानलाई तिलाञ्जलि दिने, सिङ्गो संगठनको गरिमालाई धमिल्याउने र संगठनको अस्तित्व कोमामा पुग्ने परिस्थिति निर्माण भइरहेको प्रति उनीहरूको गम्भीर चिन्तासहित ध्यानाकर्षण व्यक्त गरेका छन् ।
देशभरका जिल्ला, विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूमा तत्काल संगठन भित्रको आन्तरिक सहमतिका आधारमा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि पठाएर विधिवत् क्याम्पस, विश्वविद्यालय र जिल्ला अधिवेशनको वातावरण बनाउन अध्यक्षको ध्यानाकर्षण गराउने समेत निर्णय भेलाले गरेको छ । साथै आफ्ना मागहरुको वेवास्ता गरेको अवस्थामा देशभरका नेविसंघ विद्यार्थीको भेला बोलाएर नेविसंघ केन्द्रीय कार्यसमिति गठन गर्ने समेत चेतावनी संस्थापन इतर पक्षले दिएको छ ।




