सिरहा । मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू बुधबार दिउँसो जिल्ला अदालत सिरहा आगाडी घन्टौं प्रदर्शन गरेका थिए ।
मिटरब्याजी निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको पीडितहरुलो गुनासो रहेको छ । घटनापछि निरौलालाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहामा पुर्याएको थियो ।
मिटरव्याजीले पीडित कुटेपछि जिल्ला प्रहरी कार्यालय अगाडि रातभर धर्ना बसेका थिए । धर्नामा मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवान पनि धर्नामा थिए । उनीहरू माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।
न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौला कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताए । उनले भने, ‘आज बिहान प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । त्यसपछि हामी धर्ना स्थगित गरेका छौँ ।’
निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।
निरौला छुटेपछि पीडितहरूलाई धाक धम्की दिएर प्रताडित गरेको संघर्ष समितिका संयोजक पासवानले बताए । उनले भने, ‘आफूमाथि किन मुद्दा लगाएको भन्दै पीडितहरूलाई अनेक खालको हिंसा गरिरहेका छन् । हिजो त अदालतमै पीडितलाई कुटे, जहाँ मान्छे न्यायका लागि पुग्छन् ।’
प्रजिअकाे सरुवाको माग
मिटर ब्याज विरुद्धको संघर्ष समितिले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवको सरुवाको माग गरेका छन् ।
मिटरब्याज सम्बन्धी परेको जाहेरी मिलापत्र गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले पाएको छ । तर छलफलबाट पीडितहरू न्याय नपाउने गरेको संघर्ष समितिको आरोप छ ।
समितिका संयोजक पासवानले सिडिओ र सहायक प्रजिअ भूमिका शंकास्पद रहेको आरोप लगाए । उनले भने, ‘यहाँका सिडिओ र सहायक सिडिओ रहेसम्म हामी छलफलमा बस्दैनौं ।