images

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर–५ मा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको ज्यान गएको छ । सोमबार राति पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको हो ।

वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ।

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । उनीहरुको शव शव नारायणी अस्पतालमा राखिएको छ ।

टेम्पोमा ६ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ । अटाेमा चार जना घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ ।