images

बचतकर्ताको रकम हिनामिनाको आरोपमा पक्राउ परेका वडाध्यक्ष दर्लामी निलम्बीत

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष एवम् पोखराको सुर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी पक्राउ परेसँगै स्वतः निलम्बनमा परेका छन् । बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको अभियोग लागेसँगै उनी पद मुक्त भएका हुन्।

दर्लामी रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका माओवादी कमिटी अध्यक्ष समेत रहेका छन् । गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उनी स्वतः निलम्बनमा परेकाे बताएकी छिन् । उनलाई आरोप लाग्दैमा दोषी नहुने तर आरोप प्रमाणित भए मात्र पद रिक्त हुने भएकाले उनको सट्टामा जेष्ठ सदस्यले कार्यभार सम्हाल्ने उनको भनाइ छ ।

वडाध्यक्ष दर्लामी पुष १२ गते पक्राउ परेका थिए । उनलाई छुटाउनको लागि माओवादी कै शीर्ष नेता नै लागि परेका छन् । पुर्व उपराष्ट्रपती नन्दबहादुर पुनका छोरा दिपेश पुन र दर्लामी मिल्ने साथी भएकाले दर्लामीकाे रिहाइका लागि दिपेशले समेत दबाब दिइरहेकाे बुझिएकाे छ । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले भने कानूनले पदमुक्त गर्ने अधिकार नदिएको बताए ।

पछिल्लो समय सहकारीहरु एकपछि अर्को डुब्दै गएका छन्। यसका पछाडि राजनीतिक गिरोहको हात रहेकाे र राजनीतिक दलहरुकै संरक्षणमा अपराध संस्थागत हुँदै गएकाे आरोप लाग्ने गरेकाे छ ।