images

“डाक्टरसँग मानसिक रोगीको बकपत्र”

डा. साब म मानसिक रोगी भएको छु
मलाई औषधि दिनुस
मेरो उपचार गरिदिनुस !

कसैले विकासको कुरा गरे विनास गर्न लागेको झैँ लाग्छ
कसैले आयोजनाको कुरा गरे भ्रष्टाचार गर्न लागेको झैँ लाग्छ
समाजसेवा गर्छु भन्यो भने कमाउधन्दा जस्तो लाग्छ
आदर्शका कुरा गर्यो भने फटाह झैँ लाग्छ
डा. साब म मानसिक रोगी भएको छु
मलाई औषधी दिनुस
मेरो उपचार गरिदिनुस !

राजनीति गरी देशको सेवा गर्छु भन्छ उ
त्यसले गज्जबकै जागिर खान लाग्यो भन्ने लाग्छ
सांसद बनेर केहि गर्छु भन्यो भने विदेश भ्रमणमा जाने भो भन्ने लाग्छ
उसले जनता लुट्ने, आफ्नै पेशा व्यवसाय फस्टाउने निति निर्माण गर्ने भो भन्ने विचार आउँछ
मन्त्री बन्न नेताको चोटामा धाएको देख्दा विचौलिया र सेटिडधारीसँग हात मिलाउने भो भन्ने लाग्छ
प्रधानमन्त्री हो उ ! उसका गतिविधि देख्दा देशलाई भीरतिर लाने भो भन्ने लाग्छ ।
बस लड्दा यात्रु लडे जस्तै, देश लड्दा आफु पनि लड्छु कि भनेर
जे भेटो त्यसैको टेको समाउँ समाउँ लाग्छ
प्रधानमन्त्रीको परिवार देख्दा अलिकति त सम्मान जाग्नु ! अलिकति त सम्मान जाग्नु नि !
कति हसुरिरहेका होलान है भन्ने शंका लाग्छ
डा. साब म मानसिक रोगी भएको छु
मलाई औषधी दिनुस
मेरो उपचार गरिदिनुस !

कर्मचारी देख्दा सेवक होइन, लुटेरा जस्तो लाग्छ
पत्रकार साथि भेट्दा, भ्रमको खेति जस्तो लाग्छ
बोलक्कड नेता भिजन भएरै बोल्या होला नि तर उसलाई सुन्दा टपरटुइयाँ जस्तो लाग्छ
नबोली नबोली शक्ति आर्जन गर्ने नेता महाषड्यन्त्रकारी लाग्छ
शिक्षक देख्दा कार्यकर्ता जस्तो लाग्छ
वकिल देख्दा पीडितले अझै पीडा पाउने भो भन्ने लाग्छ
न्यायाधीश देख्दा न्याय गर्नबाहेक सबै जानेको जस्तो लाग्छ
मोटिभेशनल कि खै के स्पिकर रे उ, मलाई चाहिँ पसले जस्तो लाग्छ
धार्मिक गुरु भन्दा रान उसलाई, मलाई चाहिँ ढोंगी जस्तो लाग्छ
ट्राफिक देख्दा, ट्राफिक व्यवस्थापन गर्न बसेको झैँ लाग्नु नि
त्रुतत्रुत सिटि फुक्दै विना कारण लाइसेन्स खोसेर चिट काट्ला भन्ने त्रास लाग्छ
डाक्टर भेट्दा देउता होइन, कमाउ धन्दाको नाइके जस्तो लाग्छ
अस्पताल पुग्दा अब बाँचियो भनेर ढुक्क लाग्नु नि, शपिडमा छिर्नु अघि जस्तो खल्ति छाप्त हात पुग्छ
जे भए नि म त आएँ, कमाए नि कमाउनुस, औषधिको कमिशन खाए नि खानुस
डा. साब म मानसिक रोगी भएको छु
मलाई औषधी दिनुस
मेरो उपचार गरिदिनुस !

पशुपंक्षी देख्दा निश्चल निर्मल लाग्छ
मान्छे देख्यो कि महास्वार्थी लाग्छ, महापापी लाग्छ
होइन सबैलाई लाग्ने यस्तै हो र ? यस्तो त होइन होला नि
मलाई त आजकल जे नलाग्नुपर्ने त्यहि लाग्छ
म निको भए यीनले गरे जस्तो गर्दै गर्दिन
यीनले नगरेको चाहिँ म गर्छु
सत्ते सत्ते धरोधर्म म गर्छु
म ठिक उल्टो उल्टो गर्छु
हुेर्नुस त डाक्टर साब ! म विरामी हुँदा देश विरामी भो !
म थला परेको अवसर छोपी मान्छे यहाँ हरामी भो
मन नमिल्ने मिले, विचार नमिल्ने नि मिले
नमिल्नुपर्ने मिले, मिल्नुपर्ने अल्मलिए
लौन ढिला नगरी मलाई निको बनाइदिनुस
म निको भएसी, कसम निको भएसी, यी सबलाई विरामी बनाउँछु
बिन्ती छ, यीनको चाहिँ उपचार नगरिदिनुस
गर्नुभयो भने तपाई आँफै विरामी हुन तयार हुनुस
यो मेरो चेतावनी नै भो, अब चाहिँ ढिला नगर्नुस
डा. साब म मानसिक रोगी भएको छु
मलाई औषधी दिनुस
मेरो उपचार गरिदिनुस !