
काठमाडौं–काठमाडौं महानगरपालिकाले न्यूरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेपछि त्यहाँका व्यापारीहरु पसल सटरहरु बन्द गरेर प्रदर्शनमा उत्रेका छन् । महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरिएको थियो ।

पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गरिरहेकाे छ । यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किकाे सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङको व्यवस्था गरेको छ ।

पार्किङ निषेध गरिएको ठाउँमा आज विहानै देखि विशेष सरसफाइ गरिएको थियो । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको महानगरले जनाएकाे छ ।
यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।

सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ । तर न्यूरोडका व्यापारीहरुले महानगरपालिको अवैज्ञानिक रुपमा पार्किङ क्षेत्र तोकेको, र व्यापारीहरुलाई व्यापार बन्द गराउने उद्धेश्यले पार्किङ निषेध गरेको भन्दै आन्दोलन गर्नु परेकाे प्रतिक्रिया दिएका छन।