images

यू–१९ विश्वकप क्रिकेटः नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो पौने १ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सकेको थियो । उक्त खेलमा नेपाली बलरले न्युजिल्यान्डका स्नेहिथ रेड्डी र कप्तान ओस्कर ज्याक्सनको साझेदारी तोड्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो ।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ ।

नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।