images

शिक्षक र कर्मचारीको बढुवा तत्काललाई रोक्न अल्पकालिन अन्तरिम आदेश

काठमाडौं–उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका शिक्षक र कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिष्ठानमा बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले दायर गरेको रिटमा सुनुवाइ गर्र्दै बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो । बढुवाको माग गर्दै शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् ।

अदालतले १७ माघमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । उपकुलपति प्रह्लाद कार्कीले बढुवाका लागि प्रकाशित विज्ञापन अनुसार अन्तरवार्ता अघि बढाउन मानेका छैनन् ।

सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो । अदालतको आदेशले उपकुलपति कार्कीलाई सहज भएको छ ।