images

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परियारले गरे पदवहाली

काठमाडौं– काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज पद बहाली गरेका छन् । माघ ३ गतेको मन्त्री परिषद्को निर्णय अनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन् ।

मन्त्रीपरिषद्कै निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर गएका थिए ।पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए । ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।

वि. सं. २०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरिसकेका छन् ।उनले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन् ।