images

फुटपाथ व्यवसायीले वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

काठमाडौं– संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ ।

शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने कार्यक्रम तय गरेका हुन् ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरुको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको जानकारी दिएका छन् ।

महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकट गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङको भनाइ छ । उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलाहरुलाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको आरोप पनि लगाईन् ।

उनले महानगरपालिकाले कार्यदलमा फुटपाथ व्यवसायीलाई भुलाएर सडकमा व्यापारीहरुलाई धरपकट गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।