images

चिनियाँ विदेश उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र नेपाली नेताहरूबीच भेटवार्ता

काठमाडौं– नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयान नेतृत्वको टोलीले आइतबार नेपाली राजनीतिक दलका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको छ ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयान नेतृत्वको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताहरु सहभागी छलफलमा चिनियाँ टोलीले नेपालको व्यवसायीक वातावरण देखि नेपाल–चीन सम्बन्धमा तेस्रो मुलुकले हस्तक्षेप गर्न खोजेको विषय समेत उठाए ।

छलफलका क्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताइन् । चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उनको भनाइ छ । त्यस्तै चीनियाँ टोलीले नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनाको विषयमा समेत चोसो देखाएको छ । उनीहरुले नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको परियोजनामा विदेशी शक्तिले गिजोल्न खोजेको पनि बताए ।

नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषय समेत चिनियाँ प्रतिनिधिमण्डलले उठाएको छ । उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाई छ । चनियाँ प्रतिनिधिमण्डलले उठाएका विषयमा जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न तयार रहेको बताए । यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए । एमाले महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

त्यसै गरी नेपाली कांग्रेस नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताए । नेता कोईरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको पनि बताए । साथै नेपाली नेताहरुले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण भएकाले विदेशी शक्तिलाई चिनियाँ परियोजनामाथि खेल्न नदिने पनि बताए ।