images

एनआरएनएकाे निर्वाचनविरुद्ध परेको रिट खारेज

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले गत असोज २५ गते दायर गरेको निषेधाज्ञाको निवेदन उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र कृष्णराम कोइरालाको इजलासले खारेज गरिदिएको हो । इजलासले विधिसम्मत तरिकाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको मागदाबी नपुग्ने ठहर गरेको हो ।

गत असोज–कात्तिकमा काठमाडौँमा सम्पन्न महाधिवेशनले डाक्टर बद्री केसीको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो भने अर्का प्रतिस्पर्धी आरके शर्माको समूहले पनि समानान्तर समिति घोषणा गरेको छ । शर्मा समूहले निर्वाचनको निष्पक्षमा प्रश्न उठाएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।