काठमाडौं–नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । यीमध्ये एकजना अधिकृतसहित १० जना पक्राउ परेका छन् ।
८ अधिकृतसहित १२ जना भने फरार छन् । पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल भरतपुर महानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा छन् ।
यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन् । विमानस्थल अध्यागमन कार्यालयका पूर्व अधिकृतहरु ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागोविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरु सबै फरार छन्।