काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।
‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट बाहिरिएको थियो । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए ।
त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए । साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।