काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको हो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो ।
यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो । यसबाहेक, ७ महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ ।
तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो । आयात र निर्यात नै घटेपछि ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ ।