images

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ, रुलिङसँगै संसद सुचारु

काठमाडौं–प्रतिनिधि सभाको बैठकमा बालकुमारी घटनाबारे प्रतिपक्ष दलहरुले मन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिपक्ष दल एमाले,रास्वपा र राप्रपाले बालकुमारी घटनाका दोषिलाई कार्बाही नगरेको भन्दै आपत्ती जनाउँदै सदन अवरोध गरेका थिए ।

सदन अवरुद्ध हुनबाट जोगाउन सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई रुलिङ गरे । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन के भयो भनेर प्रश्न गरे । प्रतिवेदन पढ्न कति दिनलाग्छ भनेर प्रश्न गरेका उनले भने, ‘प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाबारे प्रश्न उठाए । उनले प्रधानमन्त्री प्रचण्डले नै बालकुमारी घटना हत्या भएको स्वीकार गरेकाले गृहमन्त्री,भौतिक पूर्वाधारमन्त्री र घटनामा संग्लन डिएसीलाई पक्राउ गरि जेल हाल्नु पर्ने बताए ।

त्यसपछि सभामुखले शून्य समय सुरु गरे । तर एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरे । आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी सांसदहरु आ–आफ्नो स्थानमा उभिइरहे ।

बस्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे । सभामुखको रुलिङपछि संसद बैठक सुचारु भइ,शुन्य समयको कार्यक्रममा सांसदहरुले आफ्ना धारणहरु राखिरहेका छन् ।